कपिलवस्तुको कन्सट्रक्सन कम्पनीमा बाढी पस्दा लाखौँको क्षति

कपिलवस्तुको कन्सट्रक्सन कम्पनीमा बाढी पस्दा लाखौँको क्षति

अनिल सापकोटा
कपिलवस्तु, ७ साउन । 

सोमबार रातीबाट आएको भारी वर्षासँगै आएको भल (बाढी) पस्दा  कपिलवस्तुको बाणगंगास्थित एक कन्सट्रक्सन कम्पनीमा क्षति भएको छ ।

बाणगंगा नगरपालिका ११ बरुवामा रहेको सत्यवती इन्फ्रास्ट्रक्चर एण्ड कन्सट्रक्सन प्रा. लि. मा भल पस्दा करिब ७ लाख बराबरको क्षति भएको कन्सट्रक्सनका  सञ्चालक रामलाल अधिकारीले बताउनुभयो ।

‘राति ९ बजेबाट भारी वर्षा भएपछि १२ बजेतिर गेटबाट पानी भित्रै आयो,’ अर्का सञ्चालक लोकनाथ पौडेलले बताउनुभयो, ‘हेर्दाहेर्दै पानी बढेर माथि-माथि आउँदै गयो, पानी नरोकिएपछि  कम्पनीभित्रै छिर्यो ।’ बाध फुट्नाले पर्खाल नाघेर कुलोको सबै पानी कम्पनीमा पस्दा ४ वटा ठूला मोटर नष्ट भएको उहाले बताउनुभयो ।   

'१२ जनाको साझेदारीमा विगत डेढ वर्षदेखि  सञ्चालन गर्दै आएका थियौँ,' सञ्चालक हरी सापकोटाले बताउनुभयो, 'लकडाउनका कारण आर्थिक चपेटा परिरहेको बेला बाढीले कम्पनीमा क्षति गरेपछि झन् समस्या परेको छ।'  भल पस्दा करिब २० टिप्पर बालुवा, १० बाेरा टायलको रङ  नष्ट भएको छ । भल पस्दा कम्पनीलाई करिब ७ लाख रुपैयाँ बराबरको क्षती गरेको उहाँले बताउनुभयो।