चौलागाईंको निधनमा ३ दिन पार्टीको आधा झण्डा झुकाउने एमालेको निर्णय

चौलागाईंको निधनमा ३ दिन पार्टीको आधा झण्डा झुकाउने एमालेको निर्णय

काठमाडौं, २९ वैशाख। 
नेकपा (एमाले) ले प्रदेशसभा सदस्य पशुपति चौलागाईंका निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ ।  उनको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा  शोक पुस्तिका पनि राखिनेछ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व।चौलागाईंको तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिएका छन् । साथै कार्यालयमा शोक पुस्तिकासमेत राखिएको छ ।

पार्टी केन्द्रीय सदस्य चौलागाईंको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चौलागाईं दोलखा (ख) बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र  २०७० सालको संविधानसभा निर्वाचनमा  समानुपातिकबाट सांसद भएका थिए ।

विद्यार्थी कालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलागाईं भद्र, निष्ठावान् र  इमान्दार नेता रहेका थिए । चौलागाईंको जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे  गाउँमा भएको थियो । उनी हाल मध्यपुर थिमिमा बस्दै आएका थिए ।  पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मिएका उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । 

स्नातकोत्तर उनले २०३४ साल कात्तिक ९तत्कालीन माले० बाट राजनीतिक यात्रा शुरु गरेका थिए । उनले पटकपटक गरी छ महिना बन्दी जीवन बिताएका थिए । विगतमा शिक्षण पेसाको अनुभवसमेत सँगालेका चौलागाईंले भारत, बंगलादेश, श्रीलंका, चीन, थाइल्याण्ड, भियतनाम, इण्डोनेशिया, बेलायत, अमेरिका, फ्रान्स, जर्मनीलगायत धेरै देशको भ्रमण गरेका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनको निधनबाट शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताएका थिए । पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् ।