हलिउडकी ‘गोल्डन गर्ल’ बेट्टीको निधन

हलिउडकी  ‘गोल्डन गर्ल’ बेट्टीको निधन

१८ पुस, काठमाडौं । 
हलिउडकी लोकप्रिय अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन भएको छ । 

बेट्टीको घरमा नै सुतिरहेको अवस्थामा शुक्रबार निधन भएको हो । सयौं जन्मदिन मनाउने तयारीमा रहेकी बेट्टीले  ‘द गोल्डेन गल्र्स’ र ‘द मेरी टेलर मोर शो’ जस्ता शो मार्फत अमेरिकी जनतालाई सात दशकसम्म हसाएकी थिइन् । 

बेट्टीले हलिउडमा लामो करियरको स्वाद लिइन् । उनको नाम ‘शोबिजको इतिहास’मा पनि दर्ता भयो । उनले सन् १९४९ देखि आफ्नो टेलिभिजन करियर सुरु गरेकी थिइन् ।

उनले काम गरेको अन्तिम फिल्म ‘टोय स्टोरी ४’ थियो । सन् २०१९ मा रिलिज यो एनिमेटेड फिल्ममा उनले एक पात्रलाई आफ्नो स्वर दिएकी थिइन् । उनलाई ‘हलिउडकी गोल्डन गर्ल’का रुपमा चिनिन्थ्यो ।

अमेरिकी राष्ट्रपति जो बाइडनसहित हलिउडका सेलिब्रेटीले उनको निधनमा श्रद्धाञ्जली दिएका छन् । 

उनको जन्म सन् १९२२ जनवरी १७ मा भएको थियो । जीवनमा तीन पटक विवाह गरेकी उनले कैयौं एमी अवार्ड पनि जितेकी थिइन् ।

अभिनेता एलन लुडेन उनका अन्तिम पति थिए ।