‘केटू’ हिमालका कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत

‘केटू’ हिमालका कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत

काठमाडौं, १३ माघ ।
विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही स्वदेश फर्किएका छन् । 

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले उक्त हिमाल आरोहणमा कीर्तिमान कायम गरेका हुन् ।

उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका हुन् । आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो ।
    
उनीहरूलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घलगायत पर्यटन क्षेत्रका संस्थाको सहभागितामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत तथा सम्मान गरिएको छ । विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल र्यालीद्वारा तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमबीच सम्मान गरिने कार्यक्रम रहेको छ ।

बोर्डको कार्यक्रम सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा हुने विशेष कार्यक्रममा आरोही टोलीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

नेपाली आरोही समूह माघ ३ शनिबार राति १ बजे केटूको शिखरमा पुगेको थियो । चुचुरोमा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । प्रतिकूल मौसमका कारण आरोहण समय तालिका ढिलाइ भएको थियो । दोस्रो क्याम्पमा आरोहीको त्रिपाल र आरोहणका लागि आवश्यक उपकरण हावाले उडाएपछि आरोहणमा केही चुनौती  थपिएको थियो । विभिन्न कठिनाइबीच आरोहीले शिखरयात्रा पार गरी नेपालीको शानलाई विश्वभर पुर्याउन सफल भए ।

विश्व आरोहणको क्षेत्रमा नेपाली टोलीबाट अर्को नयाँ इतिहास रच्न सफल भएको छ । विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथापछि विश्वकै अग्लो केटू आरोहणका लागि निकै अफ्ठेरो हिमाल हो । जाडोयाममा अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेका थिएनन् ।

जाडोयाममा माइनस ८० डिग्रीको तापक्रम र १०० माइल प्रतिघण्टाको वायु गतिजस्ता प्रतिकूल अवस्थामा समेत आरोहण रच्ने नेपाली आरोहीको सफलताले विश्वभर चर्चा पाएको छ । विश्वभरका पर्वतारोहीले केटु हिमाललाई किलर हिमालको रूपमा समेत चर्चा गर्ने गरेका छन् । केटू हिमालमा अहिलेसम्म जम्मा ३६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८५ भन्दा बढीले ज्यानसमेत गुमाइसकेको जनाइन्छ ।