अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन: दुर्गा प्रसाईं

अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन: दुर्गा प्रसाईं

विर्तामोड, १७ फागुन ।  
व्यवसायी दुर्गा प्रसाईंले झापाको विर्तामोडमा ६ सय करोड लागनीमा  खोलेको पूर्वाञ्चल क्यान्सर अस्पताल पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका लागि अब नेपालीले विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । 

निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पतालका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालम उपलव्ध भइसकेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताएका छन् । 

“अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन । पूर्वाञ्चल क्यान्सर अस्पतालमा गुणस्तरीय सेवा र सुलभरुपमा उपलब्ध गराइरहेका छौँ ।” निर्देशक प्रसाईले भने । 

तीन सय श्ययाको स्वीकृति पाएको सो अस्पतालमा क्यान्सर उपचारका आगि आवश्यक रेडियो थेरापी, केमो थेरापी, सर्जरी लगायतका  सेवा उपलब्ध रहेको प्रसाईले जानकारी दिए । गत वर्षदेखि नै उपचार सेवा सञ्चालनमा ल्याएको सो अस्पतालले एक वर्षका अवधिमा २६ हजारभन्दा बढीका बिरामीलाई ओपिडी सेवा प्रदान गरेको अस्पतालले जानकारी दिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार नवनिर्मित अस्पताल भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा वरिष्ठ अभिनेत्री मनिषा कोइराला, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागिता रहने जनाइएको छ । 

“यो क्यान्सर उपचारका लागि  सेवा दिने अवसर हो, सेवामा केही कमी रहँदैन । उपकरण उही हो, ज्ञान उही हो ।  अमेरिका तथा भारत गए पनि पाउने सुविधा यही हो ।” अस्पतालका कार्यकारी  निर्देशक प्रसाईंले भने । ‘मुस्कुराउँछ नयाँ जीवन’ भन्ने नाराका साथ गत वर्षदेखि सो अस्पतालले आफ्नो सेवा थालनी गरेको थियो । 

अमेरिका र जर्मनीमा बनेका ती केही उपकरणलाई हालसम्म नेपालका कुनै अस्पतालले सञ्चालनमा ल्याउन सकेका छैनन् । उपकरणको मूल्यमात्र करिब एक अर्बभन्दा माथि खर्च भएका जनाइएको छ । “क्यान्सरको उपचार नपाएर कोही अकालमा मृत्यु हुन नपरोस् भन्नका लागि अस्पताल बनाउने सपना देखेको हुँ । करिब ३ सय शैयाको अस्पताल सञ्चालमा आउने छ । झापालाई ‘मेडिकल हब’ बनाउने मेरो सपना छ,” प्रसाइले भने। 

मुटु प्रत्यारोपणको तयारी

कार्यकारी निर्देशक प्रसाईले बीएण्डसी अस्पतालमा मुटु तथा मिर्गौला प्रत्यारोपणका लागि तयारी भइरहेको जानकारी दिए । 

उनका अनुसार मुटु उपचार सेवाका लागि ‘क्याथ ल्याब’ सञ्चालनमा आइसकेको छ । पूर्वाञ्चलमा पहिलोपटक रु ५० करोडको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको जनाइएको छ । अस्पतालले मिर्गौला रोगीका लागि उपचार तथा डायलाइसिस सेवा प्रदान गरिरहेको छ ।