सिरहामा साढुदाईले निर्घात कुटपिट गरेपछि साढुभाईको मृत्यु

सिरहामा साढुदाईले निर्घात कुटपिट गरेपछि साढुभाईको मृत्यु

सिरहा, १७ फागुन ।  
सिरहा नगरपालिका–१८ इटारीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ । 

आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारजनले बताएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका अजितलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति बाटोमै मृत्यु भएको मृतकका भाइ नवीनकुमार यादवले बताए। 

आपसी विवादमा मुनेश्वरलगायतका व्यक्तिले निर्घात कुटपिट गरेकोे र त्यही कारणले मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको मृतकका भाइ नवीनले जानकारी दिएका छन्।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले कुटपिटका कारण मृत्यु भएको जाहेरी दर्ता गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतकको शव परीक्षणको लागि सिरहा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।