बम विस्फोटपछि लहानको मालपोत कार्यालय ठप्प

बम विस्फोटपछि लहानको मालपोत कार्यालय ठप्प

लहान, २ चैत । 
जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले गराएको बम विस्फोटका कारण सिरहाको लहानस्थित मालपोत कार्यालय ठप्प भएको छ । कार्यालय ठप्प हुँदा कामकाज प्रभावित भएको छ भने त्रासका कारण कर्मचारी कार्यालय पुग्न डराइरहेका छन् । 

हिजो दिउँसो बम विस्फोट हुँदा कार्यालयका एक कर्मचारीसहित आठ घाइते भएका थिए भने कार्यालयको पहिलो तल्लामा रहेको तीन काउन्टर क्षतिग्रस्त भएको कार्यालय प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए । प्रहरीसँग समन्वय गरी कार्यालय भवनको सरसफाइ गराइरहेको उनले जानकारी दिए । 

बम विस्फोटपछि लागेको आगोले कार्यालयको महत्वपूर्ण कागजात जलेर नष्ट भएकाले कार्यालय सञ्चालनबारे तत्कालै केही भन्न नसकिने प्रमुख चौधरीको बताए । बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

यसैबीच मालपोत कार्यालयमा बम विस्फोट भएपछि स्थानीय प्रशासनले जिल्लास्थित सबै कार्यालयको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिइएको छ । सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले सूचना जारी गर्दै आ–आफ्नो कार्यालयको सुरक्षा व्यवस्था कडा बनाउन कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

कार्यालयभित्र र बाहिर कुनै शङ्कास्पद बस्नु रहे नरहेको बारम्बार निरीक्षण गर्ने गराउने, सेवा लिन आउने सेवाग्राहीको व्यवहारलाई सुक्ष्म निगरानीका लागि सिसी क्यामेरा जडान गर्ने, सेवाग्राही कार्यालय प्रवेश गर्नु पूर्व ल्याएका ब्याग, झोला नियमित जाँच गर्ने व्यवस्था मिलाउने कार्य गर्न निर्देशन दिइएको छ ।