मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय


चैत १८, धनुषा (रासस)
गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । 

आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायतका अस्पतालमा ४०० भन्दा बढी घाइते उपचाररत छन् । 

उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचार आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मी रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् । 

प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले भन्नुभयो, “हामीले प्रत्येक मृतकलाई रु तीन लाखका दरले तत्कालीन राहत दिने भएका छौँ उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने छ ।” 

त्यसैगरी तत्कालका लागि वासस्थानका के गर्न सकिन्छ, त्यो गर्ने र पीडितको पुनर्वासका लागि पहल गर्नेसमेत मुख्यमन्त्री राउतले जानकारी दिनुभयो ।