भोलि प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने

भोलि प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं, २० फागुन ।   
सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो। दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो ।

भोलि दिउँसो २ बजे विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने प्रेस नोटमा जनाइएको छ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने भएका छन् ।

सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’  र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गरेका छन् ।

सहमतिअनुसार विप्लव समूहका नेता तथा कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ भने विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको छ।