नेपालमा पब्जी खेल प्रतिबन्ध

नेपालमा पब्जी खेल प्रतिबन्ध

चैत २८, काठमाडौं । 
 सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

 नेपाल प्रहरीको केन्द्रिय प्रहरी व्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । प्राधिकरणले बिहीबारबाटै सबै इन्टरनेट सेवा प्रदायकहरुलाई खेल बन्द गर्न निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेपछि पब्जी खेलमा प्रतिबन्ध लगायनुपरेको बताएका छन्।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ। 

केन्द्रिय प्रहरी अनुसन्धान व्यूरोले पब्जी खेलमा प्रतिबन्ध लगाउन काठमाडौं जिल्ला अदालतसमक्ष स्वीकृतिको लागि माग गरेको थियो। अदालतले मनोचिकित्कससँग परामर्श लिई खेल बन्द गर्न बुधबार स्वीकृति दिएको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा प्राधिकरणले यसअघि पनि पोर्न साइटमा प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो।