काठमाडौं उपत्यकामा निषेधाज्ञाको निर्णयपछि घर फर्किनेको भीड

काठमाडौं उपत्यकामा निषेधाज्ञाको निर्णयपछि घर फर्किनेको भीड

काठमाडौं, १४ वैशाख ।  
जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै काठमाडौं उपत्यका छाड्ने यात्रुको भीड अचाक्ली बढेको छ । 

कोटेश्वर, गोङ्गबुस्थित नयाँ बसपार्क र कलंकीमा घर जाने यात्रुको भीडभाड बढेको छ। अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयपछि भने भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । 

लामो दूरीका सार्वजनिक यातायातमा १५ गते रातीसम्मका प्राय सबै सिट बुक भइसकेका छन् भने टिकट नपाएको यात्रुले गुनासो गरेका छन् । अर्घखाँची जानका लागि टिकट काट्न मंगलवार साँझ नयाँ बसपार्क पुगेका विकास घिमिरेले टिकट नपाएको गुनासो गरे । लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको व्यवसायी बताउछन्।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले सोमबार बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताए । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् ।