काठमाडौं महानगरपालिकाले फिर्ता लियो शुल्क वृद्धिको निर्णय

काठमाडौं महानगरपालिकाले फिर्ता लियो शुल्क वृद्धिको निर्णय

वैशाख १२, काठमाडौँ ।  

काठमाडौं महानगरपालिकाले गत चैत २६ गते अनधिकृत रूपमा बढाएको निजी विद्यालयको शुल्क वृद्धिलाई खारेज गरेको छ । 

बुधबार मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको महानगर बैठकले खारेजीको निर्णय गरेको हो ।
 
अभिभावक महासंघ र विभिन्न निकायले कानुनी आधारविना शुल्क बढाइएप्रति बिरोध जनाएपछि साबिककाे शुल्कमात्र लागू गर्ने महानगरपालिकाले निर्णय गरेको हो ।

यसअघि महानगर शिक्षा समिति र निजी विद्यालय संगठन प्रतिनिधिहरूले करिब २७ प्रतिशत शुल्क बढाउने निर्णय गरेका थिए । गत चैतमा ‘क’ श्रेणी विद्यालयले १ देखि ५ कक्षा २ हजार ८ सय १२ रुपैयाँ शुल्क तोकिएको थियो ।

त्यसैगरी कक्षा ६ देखि ८ मा ३ हजार २ सय ५१ तथा कक्षा ९ र १० को शुल्क ४ हजार ३ सय ७३ रुपैयाँ कायम गरिएको थियो । उक्त शुल्क खारेजीपछि साबिक ‘क’ श्रेणीका विद्यालयले कक्षा १–५ मा २ हजार ३ सय ६३, कक्षा ५–८ ले २ हजार ७ सय तथा कक्षा ९ र १० मा ३ हजार ६ सय ७५रुपैयाँमात्र अशुल्न पाउने छन् ।