मंसिर ६ गतेदेखि चार दिने भर्चुअल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

मंसिर ६ गतेदेखि चार दिने भर्चुअल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

५ मंसिर, काठमाडौं । 
मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा नवौँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सोमबारदेखि सुरु हुने भएको छ ।  

कोभिड–१९ को कारण बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै नवौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव  यही मंसिर ६ देखि ९ गतेसम्म भर्चुअल रुपमा आयोजना हुनेछ।

स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा फिल्म गरी महोत्सवमा २४ देशका ४२ वटा चलचित्र प्रदर्शन हुने आयोजकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु छनोट गरिएको हो।

महोत्सवमा चलचित्र देखाएपछि ‘मानव अधिकार र न्यायका लागि वातावरण’, मानव अधिकारमा कोडिभ–१९ को प्रभाव’, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तिकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिकालगायत विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवा समूहलगायतसँग अन्तर्क्रिया गरिनेछ।

महोत्सवका चलचित्रहरु अनलाइन वेबसाइट मुभी डटकम (9nhriff.muvi.com) लग इन गरेर हेर्न सकिने छ। महोत्सव सुरुभएको दिनदेखि अर्को दिन बिहान ७ बजेसम्म फिल्म हेर्न सकिने छ।

महोत्सवमा अन्तर्राष्ट्रिय विधाका चलचित्रहरुको प्रर्दशन मात्र गरिने छ भने नेपाली विधाका चलचित्रहरूको प्रतिस्पर्धा हुनेछ । जसमा प्रतिस्पर्धी नेपाली चलचित्रहरुलाई निर्णायक मण्डलले उत्कृष्ट फिक्सन, उत्कृष्ट बृत्तचित्र र उत्कृष्ट महिला चलचित्रकर्मीको छनौट गरी पुरस्कार घोषणा गरिनेछ ।