कोरियाली भाषा परीक्षाको आवेदन खुल्ला, यसरी दिन सकिन्छ आवेदन

कोरियाली भाषा परीक्षाको आवेदन खुल्ला, यसरी दिन सकिन्छ आवेदन
तस्विर सौजन्य : Mountain Television

चैत ८, काठमाडौं । 
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुलेको छ ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका, त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९, ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका नेपाली नागरिकले चैत १७ गतेसम्म आवेदन दिन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np  बाट, ग्लोबल आइएमई बैंक, त्यस्तै आइएमई-पे तथा इ-सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ । 

परीक्षा शुल्कका लागी २४ अमेरिकी डलर बुझएपछि राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्ने छ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने छ । परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोजेर परीक्षा दिन पाइने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । 

कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौं र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिने इपिएस शाखाले जनाएको छ ।