नेपाल एयरलाइन्सले जापानमा साताका ३ उडान भर्ने

नेपाल एयरलाइन्सले जापानमा साताका ३ उडान भर्ने

भदौ ३, काठमाडौं । 
नेपाल र जापान यसै महिनाबाट पहिलोपटक सिधा हवाई उडानमार्फत जोडिँदैछन् । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको ए ३३०–२०० जहाज काठमाडौं विमानस्थलबाट भदौ १२ गते बिहान २ बजेर ३० मिनेटमा जापानको ओशाकाका लागि उड्ने निश्चित भएको छ ।

काठमाडौं र ओशाकाबाट सातामा तीन उडानको तयारी निगमले गरेको छ । मंगलबार, बिहीबार र शनिबारका लागि नियमित उडानको तालिका राखिएको छ । जापान उडानका लागि आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारीको काम सम्पन्न भइसकेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताएका छन् । 

नेपाल एयरलाइन्सले यसअघि पनि ओशाकामा उडान गरिसकेको छ । तर, त्यसबेला निगमको जहाज काठमाडौंबाट चीनको सांघाई हुँदै जापान जाने गरेको थियो । काठमाडौंबाट ६ घण्टा ३० मिनेट लगातार उडेपछि जहाज ओशाका पुग्नेछ ।

बिभिन्न वायुसेवा कम्पनीले नेपाल–जापान दुईतर्फी भाडा १ लाखदेखि सवा १ लाख रुपैयाँ लिने गरेपनि नेपाल वायुसेवाले भने दुईतर्फी भाडा ७५ हजार रुपैयाँ तोकेको छ ।