विषादी प्रयोगशाला सञ्चालनपछि चितवनमा विषादीको प्रयोग घट्दो

विषादी प्रयोगशाला सञ्चालनपछि चितवनमा विषादीको प्रयोग घट्दो
प्रतिकात्मक तस्वीर

चितवन, २३ मंसिर ।
चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि फलफूल तथा तरकारीमा विषादीको प्रयोग कम हुन थालेको छ । किसान र उपभोक्ता यसबारे सचेत बन्दै गएकाले विषादीको मात्रामा कमी आएको सरोकारवालाले बताएका छन् ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको नियमित परीक्षण गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अधिकृत पूर्णिमा क्षेत्रीले शुरुको तुलनामा आजभोलि चितवनको फलफूल तथा तरकारी खान योग्य बन्दै गएको बताईन ।

उनले भनिन, “हामीले महानगर फलफूल तथा तरकारी बजारमा गएर हरेक दिन पाँचवटा नमूना लिएर आउँछौँ । यदि ४५ प्रतिशतभन्दा बढी विषादी प्रयोग भएको देखिएमा पूरै तरकारी नियन्त्रण गरेर नष्ट नै गर्न लगाउँछौँ, ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा भने सबै तरकारी क्वारेन्टिनमा राखेर पछि फेरि परीक्षण गर्दछौँ ।” उनले भनिन् , “केही समय अगाडि काँक्रोमा ३५ प्रतिशत बढी विषादी देखिएको थियो तर आजभोलि भने भेटिएको छैन, भरतपुरको बजारमा आउने तरकारीमा ३५ प्रतिशतभन्दा बढी विषादी नपाइएकाले खानयोग्य छ।”  प्रयोगशाला स्थापनाले व्यापारी, उपभोक्ता र किसान सबै सचेत बन्दै गएको उनले बताइन ।

प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा झण्डै एक वर्ष अगाडिदेखि प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो । 

परीक्षण विधिलाई ‘आरबिपीआर’ (विषादी अवशेष द्रुत विश्लेषण) भनिन्छ । यसमा ३५ प्रतिशतभन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ र ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ ।

महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले विषादी परीक्षण प्रयोगशालाले प्रभावकारी ढङ्गले काम गरिरहेको बताए । भरतपुरको बजारमा दैनिक १५० टन तरकारी र ५० टन हाराहारी फलफूल आउने गरेको छ ।