प्रदेश २ मा एसईई परीक्षा स्थगित, बिद्यार्थी आक्रोशित

प्रदेश २ मा एसईई परीक्षा स्थगित, बिद्यार्थी आक्रोशित
तस्विर सौजन्य : विजयकुमार महतो, रासस

चैत १५,काठमाडौँ ।  
सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ ।

शुक्रबार सामाजिक विषयको प्रश्नपत्र धनुषाबाट र बिहीबार विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट परीक्षा हुनुपूर्व नै बाहिरिएपछि दुवै विषयका परीक्षा स्थगित गरिएको थियो। लगातार दुई विषयका प्रश्नपत्र बाहिरिएपछि शुक्रबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रदेश २ मा एसईई परीक्षा स्थगित गरेको जानकारी दिए।

बैठकले प्रश्नपत्र बाहिरिएको प्रदेश २ को २ सय ६२ वटा परीक्षा केन्द्रको परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको पनि मन्त्री पोखरेलले जानकारी दिए । मन्त्री पोखरेलले अन्य प्रदेशको हकमा भने परीक्षा नियमित ढंगले सञ्चालन हुने उल्लेख गर्दै ढुक्क भएर सहभागी हुन पनि सबै परीक्षार्थीहरुलाई आह्वान गरे । 

उनले प्रश्नपत्र लिक गराउने काममा सहभागी भएकाहरुको अनुसन्धान गरी दोषीउपर कडा कार्वाही गर्ने चेतावनी पनि दिए ।सरकारले सो घटनाको छानवीनका लागि शिक्षा मन्त्रालय आफैँले छानबिन समिति गठन गरेको छ भने नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पनि सो घटनाको अनुसन्धानको कामलाई अघि बढाएको छ ।

यता शुक्रबार हुने भनिएको समाजिक विषयको परीक्षा प्रदेश नं. २ को सरकारले स्थगित गरेपछि विद्यार्थीले वीरगञ्जको मुर्ली बगैँचास्थित अनुभुति कलेज लगायतका विभिन्न स्थानमा तोडफोड गरेका छन् ।