भागरथीको शव आफन्तले बुझे, महाकालीमा दाससंस्कार

भागरथीको शव आफन्तले बुझे, महाकालीमा दाससंस्कार

बैतडी, ७ फागुन । 
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७  चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेका छन् । मृत भेटिएकी १७ औँ दिनमा आज उनका आफन्तले शव बुझेका हुन् ।  

शवलाई आजै दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको भागरथीका काका शिवराज भट्टले जानकारी दिए । भागरथीको शव आजसम्म जिल्ला बैतडीको शवगृहमा राखिएको थियो । भागरथीको  शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो ।  

गत माघ २२ गते वीभत्स र निर्वस्त्र अवस्थमा मृत भेटिएपछि अपराधीको पत्ता लगाउनुपर्ने माग राख्दै आफन्तले उनका शव बुझ्न अस्वीकार गरेका थिए ।  प्रहरीले  बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो ।  

भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ । सार्वजनिक गरेको दिनसम्म दिनेशले आफूले भागरथीको हत्यामात्रै गरेको बताउँदै आएका थिए तर बिहीबार दिनेशका बुबासमेत राखेर सरकारी वकिलमा गरिएको बयानमा भने दिनेशले आफूले नै बलात्कार गरी हत्या गरेको स्वीकार गरेको छन् । त्यसपछि मात्रै भागरथीका आफन्तले शव बुझ्न मानेका हुन् ।

शव बुझ्नुभन्दा पहिला आज बिहान पीडित परिवारले प्रहरी अधिकृत तथा सम्बन्धित निकायलाई जिल्ला प्रशासनमा भेटेर अभियुक्त भनिएका दिनेशले बयान फेरिरहेकाले अझै पनि अनुसन्धान निष्पक्षरुपमा गर्न आग्रह गरेका थिए ।  

बुधबार नै भागरथीका दाइ शङ्कर भट्टले दिनेशका विरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट म्याद थप गरी पाँच दिन अनुसन्धानका लागि अनुमति दिइसकेको छ ।  दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा भागरथी कक्षा १२ र दिनेश कक्षा ११ मा पढ्थे । 

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जङ्गलमा वीभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदी नेतृत्वको टोली खटिएको थियो ।