अपराधिक गतिविधिमा संलग्नलाई कठघरामा ल्याउछौँ : गृहमन्त्री

अपराधिक गतिविधिमा संलग्नलाई कठघरामा ल्याउछौँ : गृहमन्त्री
तस्विर सौजन्य : ratopati

जेठ १३, काठमाडौ ।
सरकार अपराधिक गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी कठघरामा ल्याउन पछि नपर्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको  बैठकमा समय लिएर बोल्दै गृहमन्त्री थापाले  विप्लव समुहले मुलुकको शान्ति र स्थायीत्वलाई प्रभाव पार्ने क्रियाकलाप अघि बढाएको उल्लेख गर्दै त्यस तर्फ सरकार सजग रहेको बताए । उनले केही समयदेखि विप्लव समूहले संविधान र शान्ति विरोधी गतिविधि गर्दै आएको, जनसरकारको रुपमा जनपरिषद् गठन गरेको, जनसेना बनाएको र शसस्त्र गतिविधिहरु संचालन गर्दै आएको उल्लेख गरे । 

गृहमन्त्री थापाले विप्लव समुहका क्रियाकलापलाई नियन्त्रण गरि वार्ताद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अघि बढाइएको र मुल धारमा ल्याई गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध रहेको बताए । 

समाजमा आतंक फैलाउने मनसायका साथ काठमाडौं, सर्लाही, ललितपुर, मकवानपुर, झापा, धादिङ, दार्चुला, कास्की, मोरङ, भक्तपुर, स्याङजा, रौतहट, वैतडी तनहुँमासमेत शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पार्ने काम गरेको गृहमन्त्री थापाले जानकारी दिए ।