सोमालियाको राजधानीमा कार बम विस्फोट हुदा कम्तीमा ९० जनाको मृत्यु

सोमालियाको राजधानीमा कार बम विस्फोट हुदा कम्तीमा ९० जनाको मृत्यु
तस्विर सौजन्य : CNN

१३ पुस, मोगादिसु (ऐजेन्सी) 
सोमालियाको राजधानी मोगादिसुको एक व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली वम विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ । 

घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका अधिकारीले जनाएका छन्।

उक्त विष्फोट सोमालियाको राजधानी मोगादिसुको दक्षिणपश्चिमको चोकमा भएको हो । उक्त स्थानमा सुरक्षा जाँचका लागि बनाइएको अस्थायी सुरक्षा पोस्ट र कर कार्यालयसमेत रहेकोले विष्फोटमा धेरै जनाको मृत्यु भएको एक प्रहरी अधिकारीले बताए । 

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको र घाइतेमध्ये दर्जनौँको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या थप बढ्न सक्ने यहाँको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा विद्यार्थी तथा टर्कीबाट सडक निर्माणका लागि खटिएका श्रमिक तथा केही इन्जिनियरहरूसमेत परेका छन् ।