सर्वोच्चको फैसला: नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई

सर्वोच्चको फैसला: नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई

काठमाडौं, २३ फागुन ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलले दायर गरेको रिटमा सुनुवाई गर्दै नेकपाको आधिकारिकता उनलाई दिएको हो ।

रिट निवेदकको मागबमोजिम रिट जारी गर्ने अदालतको फैसला भए पनि फैसलाको पूर्ण पाठ भने आउन बाँकी रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आफ्नो दलको नामसँग जुधाएको भनी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले रिट निवेदन दायर गरेकोमा सुनुवाइ फागुन १३ गते सम्पन्न भएको थियो । अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी)बीच २०७५ साल जेठ ३ गते  एकता भएर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध निवेदन दायर गरेका थिए।

कट्टेलले आयोगमा त्यसविरुद्ध उजूरी दिए पनि ओली र दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पक्षमा निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते  अदालतमा रिट निवेदन दायर गरेका थिए ।