ओलीको वक्तव्य:'सरकारलाई ढालिछाड्ने प्रवृत्तिहरु देखा परे'

ओलीको वक्तव्य:'सरकारलाई ढालिछाड्ने  प्रवृत्तिहरु देखा परे'

काठमाडौं, २६ वैशाख । 
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले गरिरहेका क्रियाकलापलाई लक्षित गर्दै सरकारलाई ढालिछाड्ने प्रवृत्ति देखा परेको बताएका छन् । 

संसदमा विश्वासको मत लिनु अघिल्लो आइतबार प्रेस वक्तव्य जारी गर्दै ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु देखा परेको बताएका हुन् । 

‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन,’ विज्ञप्तीमा लेखिएको छ, ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरीरगराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन् । कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन् ।’

पार्टी अध्यक्षको हैसियतमा ओलीले त्यस्ता अपराध कर्ममा संलग्न नहुन सबैलाई आह्वान र आग्रह समेत गरेका छन् ।

बाहिर भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगरेको ओलीको भनाई छ ।