अञ्जन चम्किदा ताइपेविरुद्ध नेपालको शानदार जित

अञ्जन चम्किदा ताइपेविरुद्ध नेपालको शानदार जित
तस्विर सौजन्य : dailylivescores

भदौ २४, काठमाडौं । 
नेपाली टोलीका प्रभावशाली मिडफिल्डर अन्जन बिष्ट चम्किएपछि सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेलमा नेपालले चाइनिज ताइपेईमाथि सानदार जित निकालेको छ । 

मंगलबार भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसैको घरेलु मैदानमा २–० गोलले हरायो । ताइपेई रंगशालामा भएको खेलमा नेपालका लागि दुबै गोल अञ्जन विष्टले गरेका हुन् । खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि थप एक गोल गर्दै २–० को जित हासिल गर्न सफल भएको हो ।

एसियाली देशको दोस्रो चरणको छनोट अन्तर्गत यस जितसँगै नेपालले अघिल्लो खेलमा कुवेतसँगको नमिठो हारलाई केही हदसम्म बिर्साइदिएको छ । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट तीन अंक बनाएको छ । 

समूह चरणको पहिलो खेलमा नेपाल कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो । ताइपेईको भने यो लगातार दोस्रो हार हो । अघिल्लो खेलमा ताइपेई जोर्डनसँग हारेको थियो ।

विश्वकप छनेटमा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसँगै कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेका छन् । होम एन्ड अवेका आधारमा खेलाइने दोस्रो चरणको छनोट खेल सन् २०२० को जुन ९ सम्म चल्नेछ । नेपालले अब चाइनिज ताइपेईसँग अर्को खेल सन् २०२० मार्च २६ मा घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ ।