बार्सिलोनामाथि रोमाञ्चक जित निकाल्दै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोनामाथि रोमाञ्चक जित निकाल्दै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा
तस्विर सौजन्य : Sportstar

वैशाख २५, काठमाडौं । 
इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत दोस्रो लिगमा बार्सिलोनामाथि रोमाञ्चक जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई लिभरपुलले ४(० गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो ।

पहिलो लेगमा ३-० गोलअन्तरले पराजित भएको लिभरपुल दोस्रो लिगमा मोहम्मद सलाह र रोबेट्रो फिर्मिनो बिनानै मैदानमा उत्रदा खेल्न असहज हुने अनुमान गरिएको थियो तर त्यसो भएन। लिभरपुलले समग्रमा ४-३ को जित दर्ता गर्दै फाइनलमा स्थान बनायो ।

लिभरपुलको जितमा डिभोक ओरिगी र परिवर्तित खेलाडी जियोरजिनियो वाइनाल्डमले २-२ गोल गरे। पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्दा बार्सिलोना स्तब्ध बन्यो ।

खेलको ७ औ मिनेटमा नै ओरिगीले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । जर्जिनोले खेलको ५४औं मिनेटमा गोल गर्दै लिभरपुललाई २-० गोलको अग्रता दिलाए । त्यसको दुई मिनेट नवित्दै अर्थात ५६औं मिनेटमा उनले अर्को गोल थप्न सफल भए । योसँगै लिभरपुल ३-० गोलले अघि रहेको थियो ।

तीन गोल गरेपछि लिभरपुललाई फाइनल पुग्ने आत्मविश्वास झनै बढेको थियो । ७९औं मिनेटमा ओरिगीले अर्को गोल गरेपछि लिभरपुलले बार्सिलोनालाई ४-० गोलले स्तब्ध बनाएको हो ।

अब उपाधिका लागि लिभरपुलले बुधबार राति हुने अजाक्स र टोटनह्यामविचको खेलको बिजेतासँग खेल्नेछ।