विमान परिचारिकाका दाँत भाँच्ने महिलालाई पन्ध्र महिना जेल

विमान परिचारिकाका दाँत भाँच्ने महिलालाई पन्ध्र महिना जेल

१५ जेठ, काठमाडौं । 
साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा   मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ । 

सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६हजार डलर क्षतिपूर्ति र सात हजार पाँचसय डलर जरिवाना तिर्न आदेश  दिएका छन् । न्यायाधीश टोड डब्ल्यू रोबिन्सनले क्विनोनेजलाई  व्यावसायिक विमानमा तीन वर्षसम्म उडान गर्न निषेध गरेका छन् भने उनले क्रोध व्यवस्थापन कक्षा वा परामर्शमा भाग लिनुपर्ने आदेश पनि दिएका छन् ।

गत वर्ष मार्च २३ मा  साउथवेस्ट एयरलाइन्सको विमानमा सेक्रेमेण्टोबाट सान डिएगो जाने क्रममा क्विनोनेजले एकजना परिचारिलाई बारम्बार मुक्का प्रहार गरी उनको अनुहार रगतम्य पार्नुका साथै तीनवटा दाँत भाँचिदिएकी थिइन् । आक्रमणको भिडियो सामाजिक सञ्जालमा व्यापक भएको थियो । 

विमान परिचारकहरूलाई धकेल्ने, प्रहार गर्ने र चिच्याउने यात्रीहरूले अनियन्त्रित र हिंसात्मक व्यवहारको वृद्धिको बीचमा उक्त आक्रमण भएको थियो । देशका दुई प्रमुख अमेरिकन एयरलाइन्स र साउथवेस्ट एयरलाइन्सले यात्रीका दुव्र्यवहार रोक्ने प्रयासमा उडानका बेला मदिरायुक्त पेय बिक्री बन्द गरेका थिए । हाल दुवै एयरलाइन्सले मदिरा बिक्री फेरि सुरु गरेका छन् । 

गत साता अदालतमा पेश गरिएको पत्रमा क्विनोनेजले उडान परिचरलाई कुटपिट गरेकोमा माफी मागेकी छिन् । नकारात्मक ध्यानाकर्षणका कारण आफू निराश र अपमानित भएको बेला उक्त घटना भएको उनले उल्लेख गरेकी छन् । उडानका क्रममा परिचारिकाले क्विनोनेजलाई सिट बेल्ट लगाउन, सीटको अघि रहेको ट्रे टेबल बन्द गर्न र उनले लगाएको अनुहारको मास्कलाई उपयुक्त ढङ्गले लगाउन आग्रह गरेकी थिइन् । तर उनले आफ्नो फोन ती परिचारिकको फिल्म बनाउन प्रयोग गरिन् र उनलाई धकेलेर मुक्का प्रहार गरिन् । 

उनले परिचारिकाको कपाल समातेर अनुहारमा धेरै पटक मुक्का हानिन् । यात्रीहरूले क्विनोनेजको लुगा तानेर उनलाई रोक्न खोजे तर सफल भएनन् ।