काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा ट्राफिकलाई स्काउटका स्वयंसेवक सघाउने

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा ट्राफिकलाई  स्काउटका स्वयंसेवक सघाउने

काठमाडौं, १३ माघ ।
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन नेपाल स्काउटका स्वयंसेवक परिचालन गरिने भएको छ । 

काठमाडौँको बढी भीडभाड हुने स्थानमा यातायातका साधन सहजरुपमा सञ्चालन गर्ने लक्ष्यसहित स्काउटका विद्यार्थीहरु स्वयंसेवकका रुपमा परिचालन गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

काठमाडौँमा आज उक्त कार्यक्रमको उद्घाटनका क्रममा नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर अम्गाईंले काठमाडौँका विभिन्न १५ स्थानमा १३० भन्दा बढी स्वयंसेवक परिचालन हुने जानकारी दिए। “हामी  बर्दीमा रहेका स्वयंसेवक हौँ, कोभिड–१९ पश्चात् र पहिले पनि धेरै जिल्लामा नेपाल स्काउटले जनचेतनामूलक कार्यक्रम गरेको छ”, अम्गाईंले भने, “काठमाडौँ उपत्यकामा पनि ट्राफिक प्रहरीसँग सहकार्य गरेर सेवा दिन पाउँदा खुशी छौँ ।”
 
उनले नेपाल स्काउटले सिकेको सीपलाई भरपुर उपयोग गरी आम नागरिक र यातायातकर्मीलाई सन्देश प्रवाह गर्न नचुक्ने प्रतिबद्धता जनाउनुभयो । उक्त समारोहमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले सडक प्रयोगकर्ताहरु एक मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस गर्ने भन्दै स्काउटका स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गरे ।

“नेपालका सडक जोखिमपूर्ण छ, कतिबेला गाडी आइपुग्ने हो पत्तै हुन्न, ट्राफिक व्यवस्थापन थप जोखिमपूर्ण काम हो”, प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भने, “स्काउटसँगको सहकार्यबाट नागरिकले थप राहत पाउने आशा छ ।” उनले जेब्राक्रसिङमा भएको दुर्घटनामा मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उपत्यकाको चक्रथपभित्रको अति भीड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन हुने जानकारी दिए ।