ट्रम्पले फ्लोरिडामा स्थापना गरे पूर्व राष्ट्रपतिको कार्यालय, हस्तक्षेपकारी भूमिका खेल्न सक्ने !

ट्रम्पले फ्लोरिडामा स्थापना गरे पूर्व राष्ट्रपतिको कार्यालय, हस्तक्षेपकारी भूमिका खेल्न सक्ने !

ऐजेन्सी, १३ माघ ।
अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा पूर्व राष्ट्रपतिको कार्यालय स्थापना गरेका छन् ।

फ्लोरिडाको पाल्म बिचमा सोमबार ट्रम्पले कार्यालय स्थापना गरेका त्यहाँका स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

उक्त कार्यालयबाट ट्रम्पको कार्यकालमा भए गरेका कामहरुको समीक्षा, निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत गर्ने, पत्र तथा वक्तव्यहरु आदान प्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायतका गतिविधिहरु हुने जनाइएको छ ।

नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासनले गरेका कामहरुप्रति टिप्पणी गर्ने र त्यसका विरुद्धमा जनमत आफ्नो पक्षमा पारिरहने रणनीति पनि यस कार्यालयले अपनाउने अनुमान गरिएको छ ।

“राष्ट्रपति ट्रम्प सधैँ अमेरिकी जनताको राष्ट्रपति हुनुहुन्छ, सबैले उहाँलाई आफ्नो अभिभावक मानेका छन्,” उनको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

ट्रम्पको कार्यालयको नामलाई आधार मान्दा उनी सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा पनि उम्मेदवार बन्न सक्ने एकथरी विज्ञले अनुमान गर्न थालेका छन् ।

यता ट्रम्प भने जनवरी २० तारिखमा राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि मौन रहेका छन् । सामाजिक सञ्जाल ट्वीटरले समेत उनको ट्वीटर खाता खारेज गरिदिएकाले पनि उनलाई सार्वजनिक रुपमा टिकाटिप्पणी गर्ने माध्यमको अभाव भएको छ । ।

ह्वाइट हाउस छोडेपनि उनले पूर्व राष्ट्रपतिको रुपमा सक्रिय र हस्तक्षेपकारी भूमिका भने खेलिरहने उनको गतिविधी देखिन्छ ।