बिना सूचना बत्ती जाँदा अनलाइन कक्षा प्रभावित

बिना सूचना बत्ती जाँदा अनलाइन कक्षा प्रभावित
तस्विर सौजन्य : रिपब्लिका

काठमाडौं, ११ मंसिर ।
सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन् । 

कोरोना भाइरसको सङ्क्रमणका कारण गत वर्ष चैतदेखि काठमाडौं उपत्यका भित्रका विद्यालय बन्द छन् । बालबालिकाले घरमै बसेर अनलाइनका माध्यमबाट अध्ययन गरिरहेका छन् । सडक विस्तार भइरहेका क्षेत्रमा बिना सूचना दैनिकजसो बत्ती जाँदा गोकर्णेश्वर क्षेत्रका विद्यार्थीको कक्षा प्रभावित भएको हो । 

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जोरपाटीबाट सुन्दरीजल सडक विस्तार गरिरहेको छ । विस्तारका क्रममा विद्युतका पोल सार्नेलगायत कारणले बिना सूचना दैनिकजसो बत्ती जाँदा पढाइमा प्रभाव परेको गोकर्णेश्वर नगरपालिका–४ का अभिभावक गुनासो गर्छन् । 

नगरपालिकाले तीन पटकसम्म विद्यार्थीलाई भौतिकरूपमा विद्यालयमै बोलाएर कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि कोरोना भाइरसको जोखिमका कारण सबै विद्यालयले कार्यान्वयन गर्न सकेका छैनन् । केही विद्यालयले कक्षा ६ भन्दामाथिका विद्यार्थीलाई विद्यालयमै बोलाएर कक्षा बढाएर दूरी कायम गरी अध्यापन गराएका छन् । साना विद्यार्थीलाई भने जुमका माध्यमबाट नै अध्ययन अध्यापन गराइएको छ । 

घरमै बसेर जुमबाट पढिरहेका विद्यार्थी बिना सूचना बत्ती जाँदा बीचमै कक्षा छोड्न बाध्य भएको विद्यार्थी दुःखेसो छ । 

उपत्यकाको यो प्रतिनिधी समस्या मात्र हो । देशैभरका धेरै ठाउँहरुमा बिनासुचना छिन छिनमा बत्ति जाने समस्याले विद्यार्थीको अनलाइन पढाई प्रभावित बनेको छ ।