कोरोना प्रभाव: देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

कोरोना प्रभाव: देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

काठमाडौं, १५ माघ ।
कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् ।

कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका हुन् ।

नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको बताउछन् । गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको थियो । इँटा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी धरासायी भएको उनले बताए । अध्यक्ष चित्रकारले भने, '४० प्रतिशत उद्योग अहिले पनि बन्द छन् । चलेका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।' उद्योगीको भट्टामा इँटा नभएको, उठ्नुपर्ने रकम पनि खासै बाँकी नरहेको तर ऋण मात्रै बाँकी रहेको उनले गुनासो गरे।

इँटा उद्योग आत्मनिर्भर भए पनि मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ । गत वर्षहरुको तथ्याङ्कलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका छन् । चित्रकारले भने, 'यस क्षेत्रका ३ लाखमध्ये २ लाख भारतीय मजदुर हुने गरेका थिए ।' उद्योगीले उद्योग सञ्चालन गर्न नसक्नुको पछाडि भारतीय मजदुर र लगानीयोग्य पूँजीको अभाव भएको उनले बताए।

भारतीय मजदुर आउन चाहेका छैनन् भने ल्याउने अवस्था पनि कठिन भएको उनी बताउछन् । इँटा उत्पादन गरेर पनि थन्क्याएर राख्नुपर्ने अर्को बाध्यता रहेको चित्रकार बताउछन् ।

महासङ्घका प्रथम उपाध्यक्ष नारायण सापकोटा बजारमा इँटाको माग नै कम हुँदा समस्या आएको बताउछन् । मौसममा भर पर्नुपर्ने भएकाले यो व्यवसाय जोखिमपूर्ण भएको उनले बताए । 'कोभिडका कारण धेरै उद्योग पुनः सञ्चालन हुने अवस्थामा छैनन्', उनले भने।

नेपालमा वार्षिक ३ अर्ब वटा इँटा उत्पादन हुने सङ्घको तथ्याङ्क छ । देशभरमा एक हजार ८०० उद्योग रहेका छन् । सापकोटाको भनाइमा नयाँ ऋणीले सस्तो ब्याजमा ऋण पाए पनि पुरानाले महँगो तिरिरहनु पर्दा नोक्सान बढ्दो छ ।

उद्योग सञ्चालन गर्न रु दुई करोडदेखि १५ करोडसम्म लगानी गर्ने गरेको व्यवसायीको बताउछन् । स्थानीय तहहरुले माटो ल्याउन समस्या खडा गर्ने, अनावश्यक कर लगाउने, स्थानीयवासीले प्रदूषणको नाममा अनावश्यक दुःख दिने गरेका कारण पनि यो व्यवसाय प्रभावित भएको सापकोटा बताउछन् ।

पछिल्ला वर्षमा प्रदूषणरहित चिम्नी निर्माण गरी इँटा उत्पादन गरिँदै आएको व्यवसायी बताउछन् । कोभिडले दाङभन्दा पश्चिम क्षेत्रमा कम प्रभाव पारेको भए पनि देशका अन्य क्षेत्र पूर्णरूपमा प्रभावित भएको व्यवसायी बताउँछन् ।