प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान सुरु

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान सुरु

काठमाडौं, २३ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यसँगै ‘कोभिशिल्ड’ खोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले खोप लगाएसँगै मुलुकभर दोस्रो चरणको खोप अभियानसमेत शुरु भएको छ । 

ओलीसँगै खोप लगाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी र  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट अस्पताल पुगेका थिए।

खोप लगाएपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले खोप सुरक्षित रहेकाले खोप लगाएर कोभिडविरुद्धको अभियान सफल पार्न सबैमा अनुरोध गरे ।  प्रधानमन्त्री ओलीले खोप लगाएर आफूलाई कुनै पनि नकारात्मक असर नपरेको पनि जानकारी दिए।  गृहमन्त्री रामबहादुर थापाले भने बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको छ । यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरिएको १० लाख मात्रा खोप ल्याइसकिएको छ भने १० लाख मात्रा खोप भारतबाट ल्याउने प्रक्रियामा छ । 

सरकारले आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका  नागरिकलाई खोप लगाउन थालेको छ । बीस दिनसम्म चल्ने ज्येष्ठ नागरिक खोप अभियानमा १६ हजारलाई खोप प्रदान गरिने जनाइएको छ ।