भारतबाट फर्किनेको एन्टीजेन परीक्षणमा ५६ जनामा कोरोना संक्रमण

भारतबाट फर्किनेको एन्टीजेन परीक्षणमा ५६ जनामा कोरोना संक्रमण

कञ्चनपुर, २२ चैत । 
रोजगारीका लागि भारत गएका नेपाली नागरिक भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ ।

शनिबार मात्रै सीमानाका भएर फर्केका ७६७ जनाको एन्टीजेन परीक्षण गरिएकामा जसमध्ये ३२ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए।

उपरीक्षक ऐरका अनुसार एन्टीजेन पोजेटिभ आएका सबै जनालाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा राखिएको छ । एन्टीजेन परीक्षणमा १४ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्मको नतिजा पोजेटिभ आएको छ । एन्टीजेन पोजेटिभ आएकामा १५ जना कैलाली, २ जना सुर्खेत, ७ जना अछाम, १ जना कञ्चनपुर, ३ जना डोटी, १ जना जुम्ला, १ जना बझाङ र २ जना डडेल्धुराका रहेका छन् ।

सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्केकाको एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ । भारतबाट फर्कनेको सङ्ख्या धेरै भए पनि हेल्थ डेस्कमा भने स्वास्थ्यकर्मीको सङ्ख्या थोरै मात्र हुँदा परीक्षणमा समस्या हुँदै आएको छ ।

सीमानाका त्रिनगर र गड्डाचौकी भएर भारतबाट फर्केका तीन जनामा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमणसमेत देखिएको थियो । तीनै जना अहिले घरमै आइसोलेशनम बसेका छन् ।