नेपालमा पनि भेटियो कोरोनाको तेस्रो भेरियन्ट !

नेपालमा पनि भेटियो कोरोनाको तेस्रो भेरियन्ट !

काठमाडौं, ४ जेठ । 
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनकोको समन्वयमा गरिएको परीक्षणमा ९७ प्रतिशत बी.१.६१७.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको छ । मन्त्रालयका अनुसार नयाँ पत्ता लागेसँगै नेपालमा तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको मन्त्रालयले बताएको छ ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको मन्त्रालयले जारी गरेको अपीलमा उल्लेख छ ।

‘हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको अपीलमा उल्लेख छ, ‘त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि विनम्र अपिल गर्दछौं ।’