निशा घिमिरेको स्वास्थ्यमा सुधार, प्रतिक्रिया जनाउन थालिन

निशा घिमिरेको स्वास्थ्यमा सुधार,  प्रतिक्रिया जनाउन थालिन

काठमाडौं, ८ असार । 
नर्भिक अस्पतालमा उपचाररत कालाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो ।

उपचारपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उचित उपचार, आहार विहार र केयरिङ पाएका कारण उनको  मुहारमा चमक देखिएको छ । 

अस्पतालले मंगलबार वक्तव्य जारी गर्दै सोमबारदेखि निशा ह्विल चेयरमा बस्न थालेको तथा प्रतिक्रिया जनाउन थालेको जनाएको छ । उनको उपचारमा संलग्न डा. जलानले ह्विलचेयर र म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको र स्वास्थ्यमा सुधार आइरहेको बताए । 

डाक्टर जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने सम्भावना भने न्यून छ । निशाले सोझै खाना खान भने सकेकी छैनन् । पाइपमार्फत खाना दिइने गरिएको छ । डाक्टर जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको छ । 

तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारत गएको समय  सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी निशा उपचारका लागि पैसाको अभावमा घरमै अर्धचेत अवस्थामा थिइन। नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उद्धार गरेर अस्पतालको विशेष उपचार कक्षमा राखेर उपचार सुरु गराएकी हुन् ।