गणपत मा बक्सरको भुमिका निभाउदै टाइगर, फिल्मको सुटिङ सेप्टेम्बर २० बाट सुरु हुने

गणपत मा बक्सरको भुमिका निभाउदै टाइगर,  फिल्मको सुटिङ सेप्टेम्बर २० बाट सुरु हुने

ऐजेन्सी, ८ असार । 
अभिनेता टाइगर श्राफ हालका दिनमा आगामी फिल्म ‘गणपत’ को तयारीमा व्यस्त छन् । यो फिल्ममा टाइगर ‘बक्सर’को भूमिकामा देखिँदैछन् ।

विकास बहलले निर्देशन गर्ने फिल्ममा टाइगरको अपोजिटमा कृति सेनन हुनेछिन् । टाइगर आगामी सेप्टेम्बर २० बाट सुरु हुने यो फिल्मको सुटिङको तयारीमा जुटिसकेका छन् । फिल्मको सुटिङका लागि निर्देशक विकास र टाइगर उत्साहित बनेका छन्। फिल्मको सुटिङ गत वर्षको अन्त्यमा सुरु हुने भनिए पनि कोरोना महामारीका कारण सुटिङ रोकिएपछि हालसम्म पनि सुरु हुन सकेको छैन।

‘भारतमा कोरोना महामारी विस्तारै नियन्त्रणमा आइरहेको र सेप्टेम्बर २० सम्ममा अवस्थामा सामान्य हुने समय पर्याप्त रहेकाले फिल्म निर्माण टिमले यो समय छनोट गरेको हो’, फिल्म निकट स्रोतले भनेको छ ।

स्पोर्टस ड्रामामा आधारित फिल्म ‘गणपत’ले शुन्य तहबाट संघर्ष गरेर सफलताको शिखर चुमेको एक बक्सरको कथामा आधारित रहेको छ। यसबाहेक फिल्मले बाबुछोराको भावनात्मक बोण्डिङलाई पनि देखाउनेछ । फिल्मका लागि टाइगर यतिबेला मार्सल आर्टिष्टको मद्दतमा बक्सिङ सम्बन्धी तालिम लिइरहेका छन् । उनी मिक्स मार्सल आर्टस सिकिरहेका छन् ।

विकासले टाइगरलाई अहिलेसम्म कुनै पनि फिल्ममा नदेखिएको अवतारका रुपमा प्रस्तुत गर्ने तयारीमा छन् । फिल्ममा टाइगरको नाम ‘गणपत’ हुनेछ । निर्माताले ‘गणपत’ एक फ्रेञ्चाइजी फिल्म रहेको खुलाउदै फिल्ममा हलिउडस्तरको एक्सन हुने दाबी गरेका छन् ।