देउवाको आक्रोश: सरकार न विगतका गल्तीहरुबाट सिक्छ, न सरोकारवालाको सल्लाह मान्छ

देउवाको आक्रोश: सरकार न विगतका गल्तीहरुबाट सिक्छ, न सरोकारवालाको सल्लाह मान्छ
file photo

काठमाडौं, १७ वैशाख ।  
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अहिले कोरोनाको यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता रहेको बताएका छन् । 

शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गरी देउवाले सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको बताएका हुन्।

"संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ । बढ्दो संक्रमण सँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ । यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यता जिम्मेवार छ।," देउवाले भने । 

"यो सरकार न विगतका गल्तीहरुबाट सिक्छ न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाहरुले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्छ," उनले भने, "अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक—भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ ।"

सभापति देउवाले संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न तथा अस्पतालका बेडलगायतका पूर्वाधार व्यवस्था गर्न माग गरेका छन् ।

कट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितको पीसीआर परीक्षण व्यापक बनाउन तथा सीमा नाकामा अनिर्वाय पीसीआर गर्न र रिपोर्ट नआउँदासम्म होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन पनि उनले माग गरेका छन् ।