‘गाउँ आएको बाटो’ मार्फत निर्देशनमा फर्किए नवीन सुब्बा

‘गाउँ आएको बाटो’ मार्फत निर्देशनमा फर्किए नवीन सुब्बा

८ मंसिर, काठमाडौं । 
झण्डै एक दशकको अन्तरालपछि फिल्म निर्देशक नवीन सुब्बा ‘गाउँ आएको बाटो’ मार्फत निर्देशनमा फर्किएका छन्। पूर्वी पहाडमा रहेका राई समुदायको मौलिक कथामा बन्न लागेको फिल्म ‘गाउँ आएको बाटो’ सुब्बाको तेस्रो फिचर फिल्म हो।  

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सिनेमा निर्माण घोषणाका कार्यक्रममा बोल्दै सुब्बाले ठूलो पर्दाको फिल्ममा काम गर्न लामो समयपछि अवसर मिलेका बताए। 

‘गाउँ आएको बाटो’ले नेपाली समाजलाई अन्तर्राष्ट्रियकरण गर्ने भूमिका खेल्न सक्ने बताए निर्माता अमोद राईले। हङकङमा व्यापार व्यवसाय गर्दै आएका राईले विश्वभरका राई समुदायलाई समेटेर सिनेमा निर्माण गर्न खोजेको बताए। उनले भने, ‘जसरी हङकङले सिनेमा मार्फत भाषा संस्कृतिको विकास गरेको छ। त्यसैगरी ‘गाउँ आएको बाटो’ले नेपाली कला संस्कृतिमार्फत विश्वलाई परिचय दिन खोजेका छौं।’

भोजपुरको बालङ्खा, संखुवासभाको खाँदबारी र धरानमा फिल्म छायांकन गरिनेछ। यस सिनेमा निर्माणका लागि नेपाल, हङकङ, मकाउ, युके, अमेरिका, बेल्जियम, दक्षिण कोरिया, नेदरल्याण्ड पोर्चुगल लगायत देशमा रहेका राई समुदायका प्रतिनिधिहरुबाट लगानी जुटाउने निर्माता राईले बताए।

फिल्ममा दयाहाङ राई, पशुपति राई, पर्शन राई, खनुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा, राज थापा काउचाको अभिनय रहनेछ । 

फिल्मलाई अमेरिकी सिनेमाटोग्राफर मार्सिन क्याप्रोनले खिच्दै छन् । कास्टिङ निर्देशन सिर्जना सुब्बा र केदार श्रेष्ठले गर्दै छन्। 

फिल्मको प्रमुख सह–निर्देशक राजेश विश्वकर्मा छन् भने सह–निर्देशकमा अनिता रसाइली र विशाल न्यौपाने रहेका छन्।  निर्देशक सुब्बाको फिल्म ‘नुमाफुङ’ ले अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा समेत अनेक अवार्ड जितिसकेको छ ।