बैतडी जिप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो, ३ जनाको अवस्था गम्भीर

बैतडी जिप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो, ३ जनाको अवस्था गम्भीर
तस्विर सौजन्य : द हिमालयन टाइम्स

बैतडी, २२ वैशाख । 
बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । 

 यसअघि पञ्चेश्वर–६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने जिपचालक तेजबहादुर बोहराको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मङ्गलबार बेलुका जिल्ला अस्पतालमा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको बैतडीका प्रहरीले जानकारी दिएको छ । 

पञ्चेश्वर–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से१ज १८३ नंको जिप मङ्गलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटना भएको हो । सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा मृतक वडा सदस्यको शवसहित ११ जना रहेका थिए ।

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी र २४ वर्षीय दिलीपसिंह भण्डारीलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पतालमा सिफारिस गरिएको छ । अर्का घाइते मोहनसिंह भण्डारीको भने जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ ।