भारतमा कोरोना तिब्र रुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोरोना तिब्र रुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

ऐजेन्सी, ८ चैत । 
भारतमा एकै दिनमा झण्डै ४४ हजार कोरोना सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोना सङ्क्रमित भएका हुन्। 

सोही दिन २२ हजार ९ सय ५६ जना भने सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर रहेकाले सङ्क्रमितको कुल सङ्ख्यामा बृद्धि हुँदै गएको छ ।

भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या १ करोड १५ लाख ९९ हजार १३० पुगेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भारतमा एक लाख ५९ हजार ७ सय ५५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार ती मध्ये १ सय ९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सोही अवधिमा पन्जाबमा मात्रै  १ हजार ५ सय २९ जना सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म ४ करोड ४६ लाख ३ हजार ८ सय ४१ खोप लगाइएको छ । शनिबारसम्म भारतभर २३ करोड ३५ लाख ६५ हजार १ सय १९ जनाको कोरोना परीक्षण गरिएको छ ।