दोस्रो शिखर सम्मेलनका लागि किम पुगे भियतनाम

दोस्रो शिखर सम्मेलनका लागि किम पुगे भियतनाम
तस्विर सौजन्य : BBC

फागुन १४, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर वार्ता सम्मेलनका लागि उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार भियतनामको राजधानी हनोइ पुगेका छन्।

शिखर बैठकमा भाग लिन उत्तर कोरियाबाट करिब अढाइ दिन अर्थात ४ हजार किलोमिटर रेलयात्रा गरी नेता किम भियतनाम–चीनको सीमावर्ती सहर दोङदाङ पुगेका हुन्। उनलाई दोङदाङबाट उच्च सुरक्षाबीच मोटरमा राखेर करिब १७० किलोमिटर सडक मार्गबाट भियतनामको राजधानी हनोइ ल्याइएको हो।  नेता किमका लागि हनोइमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ। 

विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ। राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको दोस्रो शिखर वार्ता यही फेब्रुअरी २७ र २८ तारिखमा हुँदैछ। 

यसअघि दुई नेताबीच गत वर्ष जुनमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । उक्त वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा अस्पष्ट तर महत्वपूर्ण सहमति भएको थियो। उत्तर कोरियाको आणविक हतियार नष्ट गर्नेतर्फ यस पटकको वार्तामा ठोस सम्झौता हुने विश्लेषकहरूले अनुमान गरेका छन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पले भने विगतझैं परम्परागत ‘एयर फोर्स वान’ विमानबाट यात्रा गर्नेछन्। उनी मङ्गलबार साँझसम्म हनोइ आइपुग्ने कार्यक्रम छ। हनोइतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै दोस्रो शिखर वार्ता निकै फलदायी हुने अपेक्षा गरिएको बताएका छन्।