मलाई मार्न टिम खटाउने साथीहरु देखेर दया लाग्छ : अध्यक्ष दाहाल

मलाई मार्न टिम खटाउने साथीहरु देखेर दया लाग्छ : अध्यक्ष दाहाल

फागुन ३०, काठमाडौं । 
नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई मार्न नेत्रविक्रम चन्दले टोली खटाएको सूचना सरकारले दिएको भन्दै उनीहरुप्रति दया लागेको बताएका छन् । 

नेकपा कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित सहिद, बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफूलाई पहिला मार्नुपर्ने भनेर चन्द समूहले माइन्यूट गरेको सूचना सरकारले दिएको बताउदै भने, ‘मलाई ती साथीहरुप्रति साँच्चै माया पनि लागेको छ, दया पनि लागेको छ ।’

अध्यक्ष दाहालले चन्द समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने समेत बताएका छन्। उनले भने, 'कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवश्यकताअनुसारको सक्कलताबाट मात्रै सफल हुन्छ।'

राज्यले संविधान कानूनसार काम गर्ने भन्दै प्रचण्डले परिस्थितिलाई ठीक ढंगले मूल्यांकन गर्न र एकचोटी निधार खुम्च्याएर सोच्न आग्रह गरे । ‘अर्को प्रचण्ड बन्छु भन्दै हिँडेको सुनेको छु, यो सजिलो छैन, केही गर्नुछ भने नयाँ बाटो खोज्नुस्’ दाहालले भने ।