जिम्मेवारीबाट कांग्रेस भाग्दैनः सभापति देउवा

जिम्मेवारीबाट कांग्रेस भाग्दैनः सभापति देउवा

काठमाडौं, १९ फागुन ।   
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन् । 

नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा आज आयोजित शोकसभामा उनले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताएका हुन् ।

सभापति देउवा बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएपछि पौडेलको जवाफमा सभापति देउवाले काँधमा जिम्मेवारी आए नभाग्ने बताएका हुन् । उनले भने, “कांग्रेसले पदको लोभ पनि गरेको छैन । टाउकामा आयो भने भाग्ने पनि छैन । प्रधानमन्त्री पाउँ पनि भनेको छैन । आयो भने भाग्नेवाला पनि छैन ।”

आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै सभापति देउवाले भने, “चिन्ता नलिनुस् रामचन्द्र जी म पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने अरुको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला ।” उनले, “तपाई शेरबहादुर जी हुनै हुँदैन भन्ने चाहानुहुन्नजस्तो लाग्छ । मलाई तपाईंको भनाइबाट त्यही बुझियो ।”

सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नेपाली कांग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसद्मा छ त्यसैअनुसार अघि बढ्नुपर्ने बताउनुभयो । उनले भने, “विपक्षी दलको सही भूमिका कांङ्ग्रेसले निर्वाह गर्नुपर्छ ।”