अञ्जु पन्तको गुनासो: ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी अफिसियल भन्नु दुःखद

अञ्जु पन्तको गुनासो: ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी अफिसियल भन्नु दुःखद

२६ माघ, काठमाडौं ।

१५ वर्ष अघि गायिका अन्जु पन्तको स्वरमा रेकर्ड भएको चर्चित गीत ‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई’ लाई नेपाल आइडलकी सहभागी रचना रिमालले ‘नयाँ भर्सन’ मा गाएपछि यतीबेला विवादमा परेको छ । त्यसको पक्ष र विपक्षमा यतीबेला बहस र विवाद भइरहेको छ । 

यो गजल गीतलाई  गीतकार  विपिन किरणले नयाँ पुस्ताकी गायिका रचना रिमालको स्वरमा रेकर्ड गराएर चार दिन अघि वास्तविक गायिकाको नामसमेत नराखी अफिसियल भनेर सार्वजनिक गरेपछि अहिले यो गजल गीतको प्रस्तुति विवादमा परेको हो ।

अहिले सो विवादमा गीतकी ओरिजिनल गायिका अञ्जु पन्तले समेत मुख खोलेकी छन् । उनले नयाँ भर्सनमा ओरिजिनल गायक गायिकाको नामसमेत उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुन दुःखद् भएको बताएकी हुन् । 

‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नव आगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहने छ,’ उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै भनेकी छन् ‘उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजनिक हुनु चाहिँ दुःखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ ।’

एक व्यक्तिको कुरा भन्दा पनि संगीत र कलाकारलाई दिने सम्मान नै भुल्न लागिरहेको हो कि भनेर चिन्ता लागेको उनले बताइन् । ‘आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ,’ उनले भनेकी छन्, ‘भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस् ।’