कार्यकाल सकिनै लाग्दा ट्रम्पद्वारा रक्षामन्त्रीलाई बर्खास्त

कार्यकाल सकिनै लाग्दा ट्रम्पद्वारा रक्षामन्त्रीलाई बर्खास्त

काठमाडौं, २५ कार्तिक । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् । 

राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित भएका ट्रम्पले कार्यकाल सकिनै लागेका समय रक्षा मन्त्रीलाई बर्खास्त गरेका हुन । 

रक्षामन्त्री इस्पेरको बर्खास्तीलाई अप्रत्यासित र अस्वभाविक मानिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत इस्पेरलाई हटाइएको जानकारी दिएका छन् । तर उनलाई हटाउनुको कारण भने उनले खुलाएका छैनन । 

ट्रम्प र इस्पेरकाबीचमा पछिल्लो केही समयदेखि मतभेद रहेको थियो । गत जुनमा एक जना अश्वेत अमेरिकीको हत्या भएपछि चर्किएको आन्दोलनका क्रममा सेना परिचालन गर्ने की नगर्ने बारेमा दुईबीचमा मतभेद भएको हो । 

त्यतिवेला ट्रम्पले आन्दोलन दबाउन सेना परिचालन गर्न खोजेपनि रक्षा मन्त्री इस्पेरले भने अस्वीकार गरेका थिए । 

राष्ट्रपति ट्रम्पले इस्पेरलाई हटाएर खाली भएको रक्षा मन्त्रीको पदमा नेस्नल काउन्टर टेरोरिजम सेन्टरका निर्देशक क्रिस्टोफर मिलरलाई जिम्मेवारी दिएका छन् । 

ट्रम्पले नवनियुक्त रक्षा मन्त्री मिलरले राम्रो काम गर्ने विश्वास व्यक्त गर्दै बर्खास्त रक्षा मन्त्री इस्पेयरलाई विगतको सेवाका लागि धन्यवाद दिएका छन् ।