राष्ट्रियसभा उपनिर्वाचनमा बादल, देवकोटा र तामाङको भिडन्त

राष्ट्रियसभा उपनिर्वाचनमा बादल, देवकोटा र तामाङको भिडन्त

काठमाडौं, २४ वैशाख । 
वाग्मती प्रदेशअन्तर्गत अन्यतर्फको रिक्त स्थानमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा  डा. खिमलाल देवकोटा,  रामबहादुर थापा (बादल), र कृष्णबहादुर तामाङ भिड्ने भएका छन् । 

कांग्रेस, एमाले माधव नेपाल समूह, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षको गठबन्धनबाट गत बुधबार नै डा.खिमलाल देवकोटालाई उम्मेद्धवारका रुपमा अघि सारिएको थियो भने नेकपा ऐमाले ओली समुहबाट बादलले आज उम्मेदवारी दर्ता गराएका छन्।अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा छलफलपछि बादल त्यहीँबाट हेलिकोप्टर चढेर  हेटौंडा पुगी उम्मेदवारी दिनका हुन्। यसअधि हार्ने सम्भावना रहेका खण्डमा चुनाव सकेसम्म नलड्ने मनस्थिति बनाएका बादल ओलीसँगको लामो छलफलपछि उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले निर्धारण गरेको चुनावी कार्यतालिका अनुसार शुक्रबार सो पदमा तीनजनाको उम्मेदवारी परेको छ । नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले पनि मनोनयन दर्ता गराएका छन् ।

शुक्रबार सबैभन्दा पहिले विपक्षी गठबन्धन (नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको असन्तुष्ट समुह माधव नेपाल समुह) का तर्फबाट प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल प्रस्तावकमा र सांसद राधा घले समर्थक राखेर देवकोटाले उम्मेदवारी दर्ता गरेका हुन् । देवकोटाले उम्मेदवारी दर्ता गरेको केहीबेरमै सत्तारुढ नेकपा एमालेका तर्फबाट  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई प्रस्तावकमा र प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समर्थक राखेर गृहमन्त्री बादलले उम्मेदवारी दर्ता गरे । तेस्रो नम्बरमा नेमकिपाले उम्मेदवारी दर्ता गरेको छ ।

राष्ट्रियसभामा निर्वाचित रामबहादुर थापा बादलले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र गत चैतमा परित्याग गरेर ऐमालेमा गएपछि उनको स्थान खाली भएको थियो ।

 जेठ ६ गते हुने  उपनिर्वाचन  लागि नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र राप्रपा र नेमकिपा गरी ५ वटा दलले आयोगमा दल दर्ता गरेपनि तीनजनाको  मात्र उम्मेदवारी परेको छ ।