आकृतिभित्रको ‘बालनयन’

आकृतिभित्रको ‘बालनयन’

१० वैशाख, काठमाडौँ ।  
एउटा बालक डोरीको जाली बाहिरबाट अपेक्षित हेराइका साथ टोलाइरहेका छन् । जाली बाहिर उनले आफ्ना आधारभूत आवश्यकता पूरा हुने केही चिज देखिरहे झैँ एक टकले हेरिरहेका छन् । 

उनको बालनयनले त्यो चिज अरुले नै उपयोग गरिरहेका अनुभूति गराउँछ । त्यसैले पिलपिलाउँदो नजर त्यही चिजमा एकोहोरिएका हुन्छ । चारकोलका माध्यामबाट पाटन सुन्धाराकी लक्षता श्रेष्ठ सिर्जना गर्नुभएको उक्त चित्रले हाम्रो समाजको बालमस्तिष्कलाई गहिरोरुपमा छोएको छ । 

हाम्रो समाजमा पारिवारिक हिंसालगायत कारणले बालबालिका सडकमा पुग्ने गरेका र त्यसपछि उनीहरुकोे जीवनमा आइपर्ने उतारचढावलाई चित्रकार श्रेष्ठले कलाका माध्यामबाट जीवन्त देखाउने प्रयास गरेका छन् । न्यूनतम आवश्यकताबाट वञ्चित बालकको आँखामा झल्किएको अपेक्षालाई उनले चारकोलका माध्यामबाट क्यान्भास रङ्ग्याए । 

उक्त चित्र नवौँ वार्षिकोत्सवका अवसरमा पाटन मङ्गलबजारको द प्रिसियस आर्टस्ले नेपाल कला परिषद्मा ‘आकृति’ शीर्षकमा आयोजना गरेको कला प्रदर्शनी समावेश छ ।

सानो उमेरका बालबालिकालाई आमाबुबाको माया चाहिन्छ, यो समयमा उनीहरुको हाँस्ने, खेल्ने तथा शिक्षा आर्जन गर्ने हो । तर ती सब कुराबाट बञ्चित एक बालक कुनै एउटा डोरीको छेकबार बाहिरको छिद्रबाट चिहाइरहनु सामान्य कुरा होइन । तर उक्त चित्रले जे नहुनु थियो त्यो भइरहेको छ भनेर बालमस्तिष्कमार्फत देखाइरहेको छ । 

हाम्रो नेपाली समाजमा भइरहेका घटनालाई चित्रमा उतार्ने श्रेष्ठले भने, “आधारभूत आवश्यकतासमेत नपाएको बच्चालाई ती कुरा प्राप्त होस्, आम नागरिकको जस्तै जीवन चल्न सकोस् भन्ने सन्देश दिन खोजेकी हुँ ।” यसका अलावा उनले मण्डला, नेपाली सांस्कृति, नेपाली जनजीवनका साथै जीसस क्राइष्टकी आमा मेरी तथा शान्तिको सन्देश दिनका लागि बुद्धको आकृतिका चित्र पनि समावेश गरेका छन् । पहिलो प्रदर्शनी भएकाले निक्कै खुसी लागेको पनि उनले सुनाए।