कोरोना संक्रमणमा दैनिक नयाँ रेकर्ड, एकै दिन ५५ जनाको मृत्यु

कोरोना संक्रमणमा दैनिक नयाँ रेकर्ड, एकै दिन ५५ जनाको मृत्यु

काठमाडौं, २१ वैशाख ।  
नेपालमा पछिल्लो तीन दिन कोरोना संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ । २४ घण्टामा पनि अहिलेसम्मकै धेरै संक्रमित र मृत्युको रेकर्ड कायम भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार १३१ जनाको पीसीआर र ५७१ जनाको एन्टिजेन परीक्षणमा ७ हजार ६६० जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा कोरोना सङ्क्रमित हुनेहरुको संख्या ३ लाख ५१ हजार ५ जना पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संख्या नेपालमा कोरोना महामारी भित्रिएपछिकै सर्वाधिक हो । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१७ पुगेको छ ।

सोही अवधिमा १७७५ जना निको भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ८२ प्रतिशत निको भएका छन् ।

हाल नेपालमा ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ७७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ गरी उपत्यकामा ३ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।