वरिष्ठ लोकगायक तथा अभिनेता जयनन्द लामाको बौद्ध परम्पराअनुसार अन्त्येष्टि

वरिष्ठ लोकगायक तथा अभिनेता जयनन्द लामाको बौद्ध परम्पराअनुसार अन्त्येष्टि

१२ फागुन, काठमाडौं । 
गायक तथा अभिनेता जयनन्द लामाको बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । 

६६ वर्षको उमेरमा बुधबार बिहान निधन भएका कलाकार लामाको बिहीबार दिउँसो बौद्ध परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको हो ।

लामाको शव बिहीबार बिहान १० बजेदेखि श्रद्धाञ्जलीका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा राखिएको थियो । नाचघरमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति पर्यटनमन्त्री प्रेम आले, अग्रज कलाकारहरु, शुभेच्छुक लगायत आफन्तहरुले लामा प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सो क्रममा पर्यटनमन्त्री आलेले मुलुकलाई चिनाउन लामाले खेलेको भुमिकाको स्मरण गरे । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले लामाको शवमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । 

बुधबार बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै घर अगाडि गाडीबाट ओर्लिने क्रममा लडेर लामाको निधन भएको थियो ।  

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएर  ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’ थुप्रै चर्चित लोकगीत दिएका लामाले ‘मनको बाँध’बाट चलचित्र अभिनय यात्रा थालेका थिए ।