बेल बटमको ट्रेलर सार्वजनिक, रअ एजेण्टको भूमिकामा अक्षयकुमार

बेल बटमको ट्रेलर सार्वजनिक, रअ एजेण्टको भूमिकामा अक्षयकुमार

काठमाडौं, २० साउन । 
अक्षयकुमारको बहुप्रतिक्षित फिल्म ‘बेल बटम’ को ट्रेलर रिलिज भएको छ ।

अक्षयकुमारका हरेक फिल्मजसरी नै यस फिल्मको ट्रेलर पनि भव्य तरिकाले लन्च गरियो । यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अक्षयकुमार र अभिनेत्री वाणी कपूर एकसाथ देखिएका थिए ।

फिल्मका अभिनेत्री लारा दत्तले दर्शकलाई ‘सरप्राइज’ दिएकी छन् । सन् १९८४ को घटनामा आधारित एक स्पाई थ्रिलरमा फिल्ममा लाराले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएकी छन् ।

ट्रेलर लन्च भएपछि अक्षयकुमारले सोशल मिडियामा फ्यानहरुसँग खुसी साटेका छन् । अक्षयले आफ्नो आधिकारीक ट्वीटर एकाउन्टमार्फत यो ट्रेलर शेयर गरेका छन् । ‘ठूलो पर्दाको जादू फेरि एकपटक लिएर आउदैछु, बेल बटमको साथ,’ उनले लेखेका छन् । उनले टिमका सबैलाई ट्याग पनि गरेका छन् । 

फिल्ममा अक्षय एक अण्डरकवर ‘र’ एजेण्टको भूमिकामा छन् । अभिनेत्री वाणी कपूर अक्षयको श्रीमतिको भूमिकामा छिन् । फिल्ममा हुमा कुरैशीको पनि अभिनय छ ।

सत्यघटनामा आधारित यो फिल्म अगष्ट १९ बाट थिएटरमा रिलिज हुँदैछ ।

‘बेल बटम’ कोरोनाकालपछि हलमा रिलिज हुन लागेको पहिलो बलिउड फिल्म हो । फिल्मलाई थ्रीडीमा पनि रिलिज गर्ने योजना छ ।