दक्षिण कोरियामा एउटै मानिसको तीन वटा फरकफरक उमेर

दक्षिण कोरियामा एउटै मानिसको तीन वटा फरकफरक उमेर

९ वैशाख, काठमाडौं । 
'तपाईँको उमेर कति भयो?' यो एउटा सामान्य प्रश्न हो जसको स्पष्ट उत्तर हुन्छ। तर दक्षिण कोरियामा भने यो प्रश्नको जवाफ त्यति सहज छैन।

दक्षिण कोरियामा जन्मिने बित्तिकै शिशु एक वर्षको भएको मानिन्छ। नयाँ वर्ष लागेसँगै उनीहरूको उमेर थप एक वर्ष बढ्छ। त्यसको अर्थ डिसेम्बर महिनामा जन्मेका बच्चाहरूको केही दिनपछि ज्यानुअरीमै दुई वर्षका हुन्छन्।

तर उमेरको हिसाब गर्ने यो कोरियाली विधि चाँडै परिवर्तन हुनसक्छ किनभने राष्ट्रपति निर्वाचित युन सुङ-न्यूलले शताव्दीऔँ पुरानो गणना विधि हटाउनका लागि पहल गरिरहेका छन्। बाँकी विश्वमा जस्तै उमेर गणना गर्ने विधि अपनाउन नयाँ व्यवस्थाले खोजेको युन सुङ-न्यूलसँग काम गरिरहेका एक अधिकारीले बताएका छन्।

उनका अनुसार उमेर गणना गर्ने फरकफरक तरिकाका कारण पटकपटक अलमलू हुने गरेको छ भने 'अनावश्यक सामाजिक र आर्थिक लागत'मा पनि यसको भूमिका रहेको छ। नयाँ प्रस्तावलाई केहीले अँगाले जस्तो देखिन्छ तर यो साँच्चै कार्यान्वयनमा आउने विषयमा भने विज्ञहरूले संशय व्यक्त गरेका छन्।

एउटा प्रश्नका तीन वटा उत्तर
कोरियामा उमेर गणना गर्ने तीन वटा विधि छ।

सन् १९६२ यता आधिकारिक रूपमा उक्त देशमा अन्तर्राष्ट्रिय प्रणाली नै प्रयोगमा छ।जसमा सम्बन्धित व्यक्तिको जन्म मिति गणना गरिन्छ। कानुनी परिभाषा अनि प्रशासनिक कामहरूमा पनि यसैलाई मान्यता दिइएको छ।

दक्षिण कोरियामा उमेर गणना गर्ने अर्को पनि तरिका छ, जसमा शिशु जन्मँदा उसको उमेर शून्य मानिन्छ र प्रत्येक वर्ष ज्यानुअरी १ तारिखमा उमेर बढ्छ। यो तरिकाले हेर्दा सन् २०२० को डिसेम्बर महिनामा जन्म लिएका बालक सन् २०२२ को ज्यानुअरीमा दुई वर्षका भइसकेका हुन्छन्। जबकि सामान्यतया त्यस्ता बच्चा अन्यत्र सन् २०२२ को डिसेम्बर महिनामा मात्रै दुई वर्षका हुन्छन्।

र त्यहाँ अर्को 'कोरियन एजु' अर्थात् उमेर गणना गर्ने कोरियाली विधि पनि छ। यो तरिकालाई सबैजसो कोरियालीहरूले प्रयोग गर्छन्। यो विधि अनुसार जन्मँद एक वर्ष उमेर मानिन्छ र जन्ममिति जुनकुनै भए पनि नयाँ वर्षको दिन उमेर बढ्छ।

यी विधिहरूका आधारमा हेर्दा सन् १९९५ को डिसेम्बर ३० तारिखमा जन्मिएका प्रख्यात के-पप साङ्गीतिक समूह बीटीएसका कीम ते-छयोङको उमेर कोरियाली उमेर अनुसार २८ वर्ष हुन्छ, अन्तर्राष्ट्रिय रूपमा गरिने उमेरको गणना अनुसार २६ वर्ष हुन्छ अनि कोरियामा प्रयोग हुने अर्को आधिकारिक प्रणाली अनुसार २७ वर्ष हुन्छ। बीबीसी