कारागार भित्रै कैदीबन्दीबीच कुटाकुट, पाँच घाइते

कारागार भित्रै कैदीबन्दीबीच कुटाकुट, पाँच घाइते

दमौली, १६ फागुन ।  
दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच जना घाइते भएका छन् । झडपमा परी तीन नाइके र दुई  कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । 

घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन् । त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते भएकामध्ये चारको दमौली अस्पतालमा र एकको दमौलीस्थित समाधान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

कारागारमा हाल रहेका चौकीदार र नाइके हटाएर आफूले चाहेको व्यक्तिलाई राखिनुपर्ने मागमा उत्रिएका कैदीबन्दीबीच विवाद हुँदा झडप स्थिति भएको बताइएको छ । घटना पश्चात प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेल, जेलर र कैदीबन्दीबीच कारागारमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।